Monday, August 24, 2009

मेरो गाउँ

अलिकति बैंश नुन खेप्न बेल्टार झरेको छ,
अलिकति बैंश सुन खोज्न अरब पसेको छ ।
मात्र बुढा बुढीहरु रित्ता घर कुरिरहेछन्,
घर कुर्ने नाममा आफ्नै काल कुरिरहेछन् ।

र केही अपाङ्गहरु छन्,
केही असहायहरु छन्,
मेरो गाउँमा,

धेरै पहिला,
समृद्धि खोज्न हिंडेको छाती,
उ बेलैमा,
भविष्य जोगाड गर्न हिंडेको ताँती,
नफर्केको कथा मात्रैछ, गाउँमा,
विछोडको ब्यथा मात्रै छ गाउँमा ।
०० ०० ००
काइला देशीले
पहिल्यै खोरण्डो खुट्टो र डुढो हातमात्र बाँकी राखेर
लडाइमा पाएको बहादुरीको तक्मा बेचेर
मासु खा’को ऋण तिर्नु प¥यो ।
पूलमायाले,
पहिल्यै अनन्त अनिश्चितता र जीवनको एक्लोपना मात्र बाँकी राखेर
बैधव्य कबुल्दै सिउँदो पुछेर आफ्नै
अंग्रेजले ला’को गुन तिर्नु प¥यो ।
खै के बाँकी छ र गाउँमा ?
खै के रह्यो र गाउँमा ?
०० ०० ००
अलिकति पोथी बैंशहरु
पोहोरैमात्र सिमाना काटी सकें
हिन्दुस्थानको बाटो लागी सके
अलिकति भाले बैशहरु
शहरले करप्प चपाइ सके ।
यस्तो भए पछि,
जीवन जे थियो त्यो नभए पछि,
के हुनु र गाउँमा ?
के रहनु र गाउँमा ?
अलिकति अपुत्रो धरती छ, बाझै
अभाव छ, पिडा छ, ताजै,
समृद्धिको सम्झना पनि छ,
धेरै त गतिहिनता छ,
मुर्दा शान्ति छ मेरो गाउँमा
त्यसैले मर्दा मलामी पाइदैन,
बाच्नेको जन्ति जानै पर्दैन ।
०० ०० ००

No comments:

Post a Comment